झापा । देशकै व्यस्त सडक सञ्जालमध्ये एक पूर्व–पश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्र गति लिएको छ। वर्षायामका बीच पनि निर्माण कम्पनीहरूले कामलाई निरन्तरता दिँदै सडकको विभिन्न खण्डमा कालोपत्र र संरचना निर्माणलाई अघि बढाएका छन्।
एसियाली विकास बैंक ९एडिबी० को करिब ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको यो आयोजना सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत सञ्चालन भइरहेको हो। करिब ९५ किलोमिटर लामो सडकलाई पाँच प्याकेजमा विभाजन गरेर निर्माण भइरहेको छ।आयोजनालाई पूर्वी र पश्चिमी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डमा काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर सडक पर्छ भने पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक विस्तार भइरहेको छ।
आयोजनाको पछिल्लो प्रगति विवरणअनुसार पहिलो प्याकेज ९काँकडभिट्टा–सीतापुरी० मा करिब ४७ प्रतिशत भौतिक प्रगति भएको छ। दोस्रो प्याकेज सीतापुरी–गोठगाउँ मा ४२ प्रतिशत काम सम्पन्न भएको छ भने तेस्रो प्याकेज ९गोठगाउँ–लबीपुर० अन्तर्गत १६।५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र पूरा भइसकेको छ।
आयोजना प्रमुखका अनुसार मौसमले साथ दिएमा दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्र गर्न सकिनेछ। यही गतिमा काम अघि बढे एक सातामै करिब ७ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको आयोजनाले जनाएको छ। वर्षाका कारण केही अवरोध आए पनि निर्माण कार्य नरोकिने र निर्धारित समयमै सम्पन्न गर्ने प्रयास भइरहेको छ।
२०८० साल माघबाट सुरु भएको यो आयोजना २०८३ साल माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल सडकको बीच भागमा तीन मिटर चौडाइको डिभाइडर निर्माण गर्दै दुवैतर्फ सडक विस्तारको काम एकसाथ भइरहेको छ। आयोजना सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्गको यो खण्डमा सवारी आवागमन थप सुरक्षित, छिटो र सहज हुने अपेक्षा गरिएको छ। साथै, झापा, मोरङ र सुनसरी हुँदै पूर्वी नेपालको आर्थिक गतिविधि, व्यापार र यात्रु आवागमनमा समेत उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।






































