दाङ । दाङको राजपुर गाउँपालिका–२ मा माटो उत्खननका क्रममा भएको दुर्घटनामा १३ वर्षीय दीपेश चौधरीको ज्यान गएको छ भने १८ वर्षीय सुमित यादव घाइते भएका छन्।

प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे दुर्गा सामुदायिक वन क्षेत्रमा ट्याक्टरसहित माटो लिन गएका बेला माथिबाट माटोको ढिस्को खस्दा दुवै जना पुरिएका थिए। स्थानीयको सहयोगमा उद्धार गरी लमही अस्पताल पुर्‍याइए पनि चिकित्सकले दीपेशलाई मृत घोषणा गरेका थिए। घाइते सुमितको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घटनापछि ट्याक्टर चालक २८ वर्षीय रामप्रताप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानमा चालकले माथिबाट ढिस्को खसेर घटना भएको दाबी गरेका छन्।

तर प्रहरीले घटनालाई केवल पहिरोको दुर्घटना भनेर निष्कर्षमा नपुगेको जनाएको छ। ढिस्को स्वाभाविक रूपमा खसेको हो वा माटो लोड–अनलोड गर्ने क्रममा लापरबाहीका कारण दुर्घटना भएको हो भन्ने विषयमा घटनास्थलको निरीक्षण र थप अनुसन्धानपछि मात्र वास्तविकता खुल्ने बताइएको छ।मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ।