काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। पछिल्ला वर्षहरूमा कम्युनिस्ट आन्दोलनले लगातार धक्का खेपेको उल्लेख गर्दै उनले विचार, उद्देश्य र राष्ट्रिय हितका आधारमा सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने बताएका हुन्।

 काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले इतिहासबाट प्रेरणा लिएर भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए। उनका अनुसार पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यले देखाएको वैचारिक मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ।

प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि चुनौती बढिरहेको, लोकतान्त्रिक उपलब्धिमाथि विभिन्न कोणबाट दबाब सिर्जना भइरहेको दाबी गर्दै त्यस्ता चुनौतीको सामना गर्न कम्युनिस्ट शक्तिबीचको एकता अपरिहार्य रहेको बताए।उनले नरबहादुर कर्माचार्यले मजदुर आन्दोलन, वर्ग सङ्घर्ष र कम्युनिस्ट संगठन निर्माणमा खेलेको भूमिकाको स्मरण गर्दै उनको राजनीतिक जीवन अहिलेका नेताहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे।

प्रचण्डका अनुसार केही वर्ष सक्रिय भएर राजनीति गर्नु मात्रै ठूलो कुरा होइन, जीवनभर आफ्नो विचार, सिद्धान्त र राजनीतिक प्रतिबद्धताप्रति अडिग रहनु नै सच्चा क्रान्तिकारीको पहिचान हो। उनले कर्माचार्यले अन्तिम समयसम्म आफ्नो राजनीतिक आदर्श नत्यागेको उल्लेख गर्दै त्यही निष्ठाबाट वर्तमान पुस्ताले सिक्नुपर्ने बताए।

उनको पछिल्लो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा कम्युनिस्ट ध्रुवीकरण र भावी राजनीतिक समीकरणबारे नयाँ संकेतका रूपमा पनि हेरिएको छ। विभाजित वाम शक्तिहरूलाई पुनः एउटै धारमा ल्याउने बहस चलिरहेका बेला प्रचण्डको यो अभिव्यक्तिले त्यस बहसलाई थप बल दिएको विश्लेषण भइरहेको छ।