काठमाडौं। मध्यपूर्वमा युद्ध थप चर्किने आशंका बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तयारी अवस्थामा रहेको ठूलो सैन्य आक्रमण अन्तिम क्षणमा रोक्न आदेश दिएका छन्। अमेरिकी सुरक्षा रक्षाको अवस्था तथा सैनिक सुरक्षाबारे आएको चेतावनीपछि ह्वाइट हाउसले तत्कालका लागि आक्रामक योजना स्थगित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उच्चस्तरीय सुरक्षा बैठकपछि ट्रम्पले अमेरिकी सेनालाई नयाँ ठूला हवाई आक्रमण अघि नबढाउन निर्देशन दिएका हुन्। सैन्य अधिकारीहरूले मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाको हवाई प्रतिरक्षा क्षमता कमजोर बन्दै गएको र थप ठूलो आक्रमणले अमेरिकी सैनिक तथा सहयोगी राष्ट्रहरू नै उच्च जोखिममा पर्न सक्ने चेतावनी दिएका थिए।
लगातार १३ रातसम्म इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरिरहेको अमेरिकाले शुक्रबार राति भने पहिलो पटक कुनै हवाई हमला नगरेको बताइएको छ। यसलाई तनाव कम गर्ने संकेतका रूपमा हेरिए पनि अमेरिकी सेना आवश्यक परे तुरुन्तै कारबाही गर्न तयार अवस्थामा रहेको जनाइएको छ।यसअघि इरानले बहराइनस्थित अमेरिकी पाँचौं नौसैनिक बेडालाई लक्षित गर्दै ड्रोन र मिसाइल प्रहार गरेको दाबी गरिएको थियो। त्यसअघि जोर्डनमा भएको आक्रमणमा तीन अमेरिकी सैनिक मारिएपछि वासिङ्टनमा इरानविरुद्ध थप कडा कदम चाल्ने दबाब बढेको थियो।
सैन्य स्रोतहरूका अनुसार अमेरिकाले इरानका ऊर्जा पूर्वाधार, यातायात सञ्जाल र संवेदनशील आणविक केन्द्रहरूसमेत सम्भावित निशानाको सूचीमा राखेको थियो। तर तत्कालका लागि ती योजना कार्यान्वयन नगर्ने निर्णयसँगै मध्यपूर्वमा युद्ध अझै व्यापक बन्ने जोखिम केही समयका लागि टरेको देखिएको छ। यद्यपि, तनाव पूर्ण रूपमा समाप्त भने भएको छैन। दुवै पक्ष उच्च सतर्कतामा रहेकाले परिस्थिति फेरि जुनसुकै बेला बदलिन सक्ने आकलन गरिएको छ।






































