काठमाडौं । काठमाडौं महानगरपालिकाका एक कर्मचारी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। महानगरपालिका वडा नम्बर ३० मा कार्यरत लेखा अधिकृत उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार स्थायी लेखा नम्बर ९प्यान० बन्द गर्न वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस उपलब्ध गराउने क्रममा सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख–हैरानी दिँदै घुस मागिएको भन्ने सूचना आयोगमा पुगेको थियो।

उक्त सूचनाको आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो। त्यसक्रममा भट्टराईले सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानले सेवाग्राहीसँग सार्वजनिक सेवा प्रवाहको प्रक्रियालाई प्रभावमा पारेर अवैध रकम मागिएको देखिएको अख्तियारको भनाइ छ। पक्राउ परेका भट्टराईमाथि भ्रष्टाचारसम्बन्धी कानुनअनुसार थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

यस घटनाले सार्वजनिक निकायमा सेवा लिन आउने नागरिकसँग हुने घुस लेनदेन र अनियमितताप्रति अख्तियारले निगरानी अझ कडा बनाइरहेको सन्देश दिएको छ। आयोगले सेवाग्राहीलाई कुनै पनि सरकारी कार्यालयमा घुस मागिए तत्काल सूचना दिन आग्रह गर्दै भ्रष्टाचारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।