काठमाडौं। लुम्बिनी प्रदेशको सत्ता समीकरण एकाएक फेरिने भएको छ। एमाले र नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि लुम्बिनी सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।
एमाले नेतृत्वको सरकारमा कांग्रेसको बसाइ अब अन्त्यतिर पुगेको छ। कांग्रेस सरकारबाट बाहिरिएलगत्तै एमाले–नेकपा गठबन्धनले प्रदेशसभामा स्पष्ट बहुमत जुटाउने अंकगणित देखिएकाले नयाँ राजनीतिक अध्याय सुरु हुने संकेत देखिएको छ।
कांग्रेसबाट सरकारमा रहेका शहरी विकास तथा खानेपानी, आर्थिक मामिला, उद्योग–पर्यटन तथा यातायात, सामाजिक विकास र वन तथा वातावरण मन्त्रालय सम्हालिरहेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने तयारी गरेका हुन्। उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सबै मन्त्री मिलेर सकेसम्म आजै राजीनामा दिने बताएका छन्।
कांग्रेसले केही साताअघि नै एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरिसकेको भए पनि लुम्बिनीमा मन्त्रीहरूले पद नछोडेका थिए। तर एमाले–नेकपाबीच औपचारिक सहमति भएपछि सरकारमा बसिरहन नैतिक र राजनीतिक आधार नरहेको निष्कर्षमा कांग्रेस पुगेको हो।
बहुमतको खेल एमाले–नेकपाको पक्षमा
८७ सदस्यीय प्रदेशसभामा हाल ८३ सांसद कायम छन्। एमालेका २९ र नेकपाका १३ सांसद ९सभामुखसहित० मिल्दा बहुमतका लागि आवश्यक संख्या पुग्ने अवस्था बनेको छ। स्वतन्त्र सांसदको समर्थनसमेत प्राप्त हुने विश्वास गठबन्धनले गरेको छ।यसले कांग्रेस बाहिरिएपछि सरकार ढल्ने मात्र होइन, एमाले–नेकपा गठबन्धनले सहज रूपमा नयाँ सत्ता संरचना अघि बढाउने बाटो खुल्ने देखिएको छ।
सत्ता साझेदारीको सहमति अन्ततः टुट्यो
चेतनारायण आचार्य मुख्यमन्त्री बन्दा एमाले र कांग्रेसबीच आलोपालो सरकार चलाउने सहमति भएको थियो। तर नेतृत्व हस्तान्तरण, बजेट निर्माण र राजनीतिक विश्वासको संकटले त्यो सहमति कार्यान्वयन हुन सकेन। अन्ततः केन्द्रको नयाँ राजनीतिक समीकरणले लुम्बिनीको सत्ता पनि फेरिदिएको छ।
अब कांग्रेस प्रतिपक्षी भूमिकामा फर्किने तयारीमा छ भने एमाले–नेकपा गठबन्धनले प्रदेश सरकारको नयाँ संरचना र मन्त्रालय पुनर्गठनको गृहकार्य अघि बढाउने संकेत दिएको छ।






































