काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ इतिहास रच्ने गरी निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। राजधानी काठमाडौंलाई धादिङसँग जोड्ने यो सुरुङमार्गलाई नेपालको पहिलो आधुनिक सडक सुरुङका रूपमा हेरिएको छ। लामो समयको निर्माण प्रक्रिया, प्राविधिक चुनौती र विभिन्न अवरोध पार गर्दै आयोजना अन्ततः सञ्चालनको चरणमा पुगेको हो। 

नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सम्पन्न भएको यो परियोजनाको कुल लागत भेरिएसनसहित करिब १९ अर्ब रुपैयाँ पुगेको छ। निर्माण कार्य जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसन ले २०७६ सालदेखि सुरु गरेको थियो।सडक विभागका महानिर्देशक डा। विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २ दशमलव ६८ किलोमिटर रहेको छ। तर, आपत्कालीन उद्धारका लागि निर्माण गरिएको इभ्याकुएसन टनेल र विभिन्न क्रस–प्यासेजसमेत जोड्दा सुरुङभित्रको कुल संरचनात्मक लम्बाइ करिब ५ दशमलव ५ किलोमिटर पुग्छ।

उनका अनुसार उद्घाटनसँगै सुरुङ पूर्ण रूपमा सर्वसाधारणका लागि खुला गरिने छैन। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्रै सुरुङ प्रयोग गर्न अनुमति दिइनेछ।त्यसपछि सुरुङभित्र रहेका सम्पूर्ण सुरक्षा प्रणालीको प्रभावकारिता परीक्षण गर्न ुमक ड्रिलु सञ्चालन गरिनेछ। आगलागी, दुर्घटना वा अन्य आपत्कालीन अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने अभ्यास यस अवधिमा गरिने सडक विभागले जनाएको छ।मक ड्रिल सफल भएपछि करिब एक सातासम्म परीक्षणका रूपमा एकतर्फी ( वान–लेन )सवारी सञ्चालन गरिनेछ। त्यसक्रममा सुरुङभित्र जडान गरिएका जेट फ्यान, वायु प्रवाह प्रणाली, धुवाँ व्यवस्थापन, सञ्चार प्रणाली तथा अन्य विद्युतीय संयन्त्रको प्राविधिक परीक्षण गरिनेछ। सबै परीक्षण सफल भएमा करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ।

सुरुङ सञ्चालनका क्रममा भने सबै प्रकारका सवारीसाधनलाई प्रवेश दिइने छैन। मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाइने भएको छ। सुरक्षा मापदण्डलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ।यो आयोजना सुरु गर्नुको मुख्य उद्देश्य नागढुंगा–सिस्नेखोला सडकखण्डमा वर्षेनी दोहोरिने लामो ट्राफिक जाम, उकालो सडकको कठिनाइ तथा पहिरोको जोखिम न्यूनीकरण गर्नु रहेको सडक विभागको भनाइ छ। सुरुङ सञ्चालनमा आएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको यात्रा समय उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।

निर्माणका क्रममा भूगर्भीय चुनौती, प्राविधिक जटिलता, स्थानीय तहसँग समन्वय तथा डिजाइनसम्बन्धी केही समस्या देखिए पनि ती सबै समाधान गर्दै आयोजना उद्घाटनको चरणसम्म पुगेको विभागको दाबी छ।पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। सरकारले यो परियोजनालाई नेपालमा आधुनिक सुरुङ पूर्वाधार विकासको नयाँ सुरुवातका रूपमा लिएको छ।

सडक विभागका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि राजधानी प्रवेश गर्ने मुख्य नाकामा हुने ट्राफिक चाप कम हुनुका साथै यात्रु र ढुवानी क्षेत्रले सुरक्षित, सहज र छिटो यात्रा सुविधा पाउने अपेक्षा गरिएको छ।