विराटनगर । कोसी प्रदेशको राजनीतिक समीकरण फेरि एकपटक निर्णायक मोडमा पुगेको छ। केन्द्रमा एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेसँगै त्यसको प्रत्यक्ष प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ। नयाँ सत्ता समीकरणअनुसार अब कोसी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने लगभग निश्चित भइसकेको छ। यद्यपि, कांग्रेसले भने नयाँ मुख्यमन्त्रीको टुंगो नलाग्दासम्म आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता नबोलाउने रणनीति अपनाएको छ। कोसी प्रदेशमा हाल एमाले–कांग्रेसको संयुक्त सरकार सञ्चालनमा छ। तर केन्द्रमा विकसित राजनीतिक घटनाक्रमसँगै एमालेले नेकपासँग मिलेर नयाँ सरकार गठन गर्ने सहमति गरिसकेको छ। यससँगै वर्तमान सरकारको आयु छोटिँदै गएको विश्लेषण हुन थालेको छ।
कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले अहिले पार्टी ुपर्ख र हेरुको रणनीतिमा रहेको स्पष्ट पारेका छन्। उनका अनुसार मुख्यमन्त्री को बन्ने भन्ने विषयमा औपचारिक निर्णय नभएसम्म सरकार छाड्ने वा मन्त्री फिर्ता बोलाउने निर्णय गरिने छैन। उनले भने, हामी अहिले हतारमा कुनै निर्णय गर्ने पक्षमा छैनौँ। मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेपछि मात्रै सरकारमा रहने वा बाहिरिने विषयमा अन्तिम निर्णय गर्छौं।
उनको भनाइले कांग्रेस तत्काल सरकारबाट बाहिरिने मनस्थितिमा नरहेको, बरु नयाँ राजनीतिक अवस्थालाई नजिकबाट नियालिरहेको संकेत दिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसले सत्ता हस्तान्तरणको प्रक्रिया कसरी अघि बढ्छ भन्ने हेरेर मात्रै आफ्नो रणनीति सार्वजनिक गर्ने तयारी गरेको हो।
यता एमाले–नेकपा गठबन्धनले भने प्रदेश सरकार गठनको गृहकार्य तीव्र बनाएको छ। केन्द्रमा भएको सहमतिअनुसार कोसी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने समझदारी बनिसकेको स्रोतहरूको दाबी छ। त्यसैले अब सबैको ध्यान एमालेले मुख्यमन्त्रीका रूपमा कसलाई अघि सार्छ भन्ने विषयमा केन्द्रित भएको छ। यसैबीच कांग्रेसका सभापति गगनकुमार थापाले पनि कोसी प्रदेशको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका प्रदेश नेतृत्वसँग छलफल गर्ने तयारी भइरहेको बताएका छन्। प्रदेश सरकार परिवर्तनको प्रक्रियामा कांग्रेसले अपनाउने रणनीति, मन्त्रीहरूको भूमिका र आगामी राजनीतिक कदमबारे छलफलपछि मात्रै औपचारिक निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ।
केन्द्रको सत्ता समीकरण परिवर्तनसँगै प्रदेशहरूमा पनि सरकार फेरबदलको लहर सुरु भएको छ। बागमती, लुम्बिनी, गण्डकीलगायत प्रदेशमा समेत नयाँ समीकरणअनुसार सरकार गठनको बहस चलिरहेका बेला कोसी प्रदेश त्यसको सबैभन्दा महत्वपूर्ण केन्द्र बनेको छ। राजनीतिक वृत्तमा अब मुख्य प्रश्न ूको बन्छ कोसीको नयाँ मुख्यमन्त्रीरुू भन्ने बनेको छ। मुख्यमन्त्रीको नाम घोषणा भएपछि मात्रै कांग्रेस सरकारबाट बाहिरिने वा अन्य कुनै राजनीतिक विकल्प रोज्ने भन्ने स्पष्ट हुने भएकाले प्रदेशको राजनीति केही दिन अझै रोचक बन्ने देखिएको छ।
हालका लागि कांग्रेसले सरकार नछाड्ने निर्णय गरे पनि यो अस्थायी रणनीति मात्रै भएको नेताहरूको भनाइले संकेत गरेको छ। त्यसैले कोसी प्रदेशमा सत्ता हस्तान्तरणको अन्तिम दृश्य अब मुख्यमन्त्री चयनसँगै खुल्ने निश्चितजस्तै देखिएको छ।






































