काठमाडौं । निरन्तरको वर्षाले देशका विभिन्न जिल्लामा बाढी, पहिरो र नदी कटानको जोखिम बढ्दै जाँदा प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकमा समय तोकेर मात्रै सवारी सञ्चालन गर्न दिइएको छ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालन गर्न निषेध गरिएको छ। त्यस्तै, वर्षायामभर कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने व्यवस्था कायम गरिएको छ। इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडकमा ठूलो परिमाणमा हिलो थुप्रिएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि नियमित यातायात सेवा रोकिएको छ। अहिले खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। उता, पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक पनि अवरुद्ध भएको छ। त्यसैगरी, मुस्ताङको घ्याकर खोलामा पानीको सतह बढेपछि जोमसोम–कोरला सडक पूर्ण रूपमा बन्द भएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडकहरू खुलाउने प्रयास सडक विभाग, स्थानीय तह र सुरक्षा निकायले संयुक्त रूपमा गरिरहेका छन्। यद्यपि, वर्षा जारी रहेकाले थप पहिरो र बाढीको जोखिम कायमै रहेको छ। सुरक्षा निकायले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सम्बन्धित सडकको अवस्था बुझ्न, मौसमको जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न विशेष आग्रह गरेको छ। बर्खायामभर सडक अवस्था परिवर्तन भइरहने भएकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।