काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। केही दिनअघि घटेको सुनको भाउ फेरि उकालो लागेसँगै गहना खरिद गर्ने उपभोक्ता र लगानीकर्ताको ध्यान पुनः सुन बजारतर्फ केन्द्रित भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य गत शुक्रबारको तुलनामा १ हजार ६०० रुपैयाँ बढी हो। शुक्रबार यही सुन २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदी प्रति तोला ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा ६० रुपैयाँले बढी हो। शुक्रबार चाँदीको मूल्य ४ हजार ३५० रुपैयाँ थियो।यद्यपि, सुनको अहिलेको मूल्य अझै पनि गत बिहीबार कायम भएको उच्च मूल्यभन्दा कम रहेको छ। बिहीबार छापावाल सुन प्रति तोला २ लाख ९१ हजार ३०० रुपैयाँसम्म पुगेको थियो भने चाँदी ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य परिवर्तनको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल विश्व बजारमा एक औँस सुन ४ हजार ५२ अमेरिकी डलर र एक औँस चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।सुनको मूल्यमा निरन्तर भइरहेको उतारचढावका कारण बजारमा खरिद–बिक्रीको प्रवृत्तिसमेत परिवर्तन हुन थालेको व्यवसायीहरू बताउँछन्। आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य थप बढ्ने वा घट्ने सम्भावना रहने अनुमान गरिएको छ।