बैतडी । सवारी नियमको पालना गराउन बैतडी ट्राफिक प्रहरीले गत आर्थिक वर्षभरि सञ्चालन गरेको निगरानी अभियानबाट ठूलो संख्यामा नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५०८ जना चालकमाथि कारबाही गर्दा १२ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार ट्राफिक प्रहरीले विभिन्न प्रकारका सवारीसाधनमाथि नियमित जाँच, निगरानी र सचेतना कार्यक्रम सञ्चालन गरेपछि नियम उल्लङ्घन गर्ने चालकलाई कानुनी दायरामा ल्याइएको हो।

कारबाहीमा पर्ने सवारीसाधनमध्ये सबैभन्दा धेरै ७५४ वटा जिप, कार र भ्यान रहेका छन्। त्यस्तै १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पो चालकलाई पनि ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती चालकहरूलाई सवारी ऐन तथा ट्राफिक नियमअनुसार आवश्यक कारबाही गरी जरिवाना असुल गरिएको हो। ट्राफिक अनुशासन कायम गर्न आगामी दिनमा पनि निगरानी थप कडा बनाइने कार्यालयको भनाइ छ।

यद्यपि कारबाहीको संख्या बढे पनि सडक दुर्घटनामा भने अपेक्षित कमी आउन सकेको छैन। गत आर्थिक वर्षमा मात्रै बैतडीमा ६२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् भने १७६ जना घाइते भएका छन्। प्रहरीले दुर्घटनाका मुख्य कारणमा तीव्र गति, लापरबाहीपूर्ण सवारी सञ्चालन, मादक पदार्थ सेवन गरेर गाडी चलाउने प्रवृत्ति, ओभरलोड तथा साँघुरा र जोखिमयुक्त सडकलाई औँल्याएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालकहरूलाई सवारी नियमको पूर्ण पालना गर्न, गति नियन्त्रणमा राख्न, सिटबेल्ट तथा हेल्मेट अनिवार्य प्रयोग गर्न र सुरक्षित यात्रा संस्कृतिको विकास गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार कारबाहीको उद्देश्य राजस्व उठाउनु नभई दुर्घटना न्यूनीकरण गर्दै सडकलाई सुरक्षित बनाउनु हो।बढ्दो दुर्घटना र मानवीय क्षतिलाई मध्यनजर गर्दै बैतडीमा ट्राफिक सचेतना अभियानलाई अझ प्रभावकारी बनाउने तयारीसमेत भइरहेको प्रहरीले जनाएको छ।