काठमाडौं। युरोपमा फैलिएको भीषण डढेलोले फ्रान्स र स्पेनलाई संकटको अवस्थामा पुर्‍याएको छ। नियन्त्रणबाहिर फैलिएको आगोका कारण २ लाख ५० हजारभन्दा बढी नागरिक सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् भने हजारौं अग्निनियन्त्रक, सैनिक र दर्जनौं विमान आगो नियन्त्रणको अभियानमा खटिएका छन्।

स्पेनमा करिब ७० हजार र फ्रान्समा झण्डै १ लाख ९७ हजार मानिसलाई घर छाडेर सुरक्षित स्थानमा सारिएको छ। आगो तीव्र गतिमा फैलिन थालेपछि स्पेनले इतिहासमै पहिलोपटक डढेलोकै कारण राष्ट्रिय आपतकाल घोषणा गरेको छ।फ्रान्सको बोर्डो क्षेत्रतर्फ आगो तीव्र रूपमा फैलिँदै गएपछि सरकारले १,५०० सैनिक परिचालन गरेको छ। धुवाँको असरबाट नागरिक जोगाउन १५ लाख फेस मास्क वितरण गरिएको छ भने विशाल सैन्य मालवाहक विमानसहित दर्जनौं हवाई साधन आगो नियन्त्रणमा परिचालन गरिएका छन्।

अधिकारीहरूका अनुसार तीव्र गर्मी, लामो खडेरी र शक्तिशाली हावाले आगोलाई झन् भयावह बनाएको छ। कतिपय स्थानमा आगो यति तीव्र बनेको छ कि त्यसले आफ्नै हावाको बहाव सिर्जना गरिरहेको बताइएको छ।स्पेनमा खराब वायु गुणस्तरका कारण नागरिकलाई घरभित्रै बस्न, बाहिरी गतिविधि कम गर्न र आवश्यक परे मास्क प्रयोग गर्न आग्रह गरिएको छ। डढेलोसँग सम्बन्धित एक घटनामा एक जनाको मृत्यु भएको पुष्टि भए पनि मुख्य आगलागी क्षेत्रमा ठूलो मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।

विज्ञहरूले जलवायु परिवर्तनका कारण युरोपमा अत्यधिक गर्मी, सुख्खापन र डढेलोको जोखिम लगातार बढिरहेको चेतावनी दिएका छन्। यस वर्ष मात्रै स्पेनमा करिब १ लाख ३० हजार हेक्टर र फ्रान्समा ९८ हजार हेक्टरभन्दा बढी जंगल आगोले नष्ट गरिसकेको छ। डढेलो नियन्त्रणका लागि क्रोएसिया, इटाली, ग्रीस, पोर्चुगल, नेदरल्यान्ड्सलगायत युरोपेली देशहरूले पनि विमान र उद्धार सामग्री पठाएर सहयोग गरिरहेका छन्।