काठमाडौं। कपिलवस्तुको हुलाकी सडकमा भएको भीषण सडक दुर्घटनाले दुई जनाको ज्यान लिएको छ। नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

दुर्घटना शुद्धोधन गाउँपालिका–६ बिमिया क्षेत्रमा भएको प्रहरीले जनाएको छ। ठक्कर यति शक्तिशाली थियो कि मोटरसाइकलमा रहेका दुवै जना गम्भीर घाइते भएका थिए। स्थानीय र प्रहरीको सहयोगमा तत्काल जिल्ला अस्पताल तौलिहवा पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका छन्।मृतकहरूको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। शवलाई जिल्ला अस्पताल तौलिहवामा राखिएको छ भने आफन्तको खोजी भइरहेको छ।

घटनापछि प्रहरीले बसका सहचालक २१ वर्षीय सुनिल रानालाई नियन्त्रणमा लिएको छ। बस चालक २८ वर्षीय श्यामकुमार कामी पनि प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

हुलाकी सडकखण्डमा पछिल्ला वर्षहरूमा सवारी चाप र तीव्र गतिका कारण दुर्घटनाका घटना दोहोरिन थालेपछि सडक सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता फेरि एकपटक उजागर भएको छ।