काठमाडौं। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पाँच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गरेपछि नेपाली कांग्रेसले पनि आफ्नो राजनीतिक रणनीति तीव्र बनाएको छ। आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको शीर्ष बैठकले सातै प्रदेशमा सत्ता गठबन्धनको सम्भावना अन्तिमसम्म जीवित राख्ने निर्णय गरेको हो। बैठकमा पार्टी पदाधिकारी, सातै प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति तथा मुख्यमन्त्रीहरू सहभागी थिए। छलफलको मुख्य केन्द्र प्रदेश सरकारको वर्तमान अवस्था, सम्भावित सत्ता फेरबदल र कांग्रेस नेतृत्वका सरकार कसरी जोगाउने भन्नेमा केन्द्रित थियो।

हाल कांग्रेसले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम गरी चार प्रदेशको नेतृत्व गरिरहेको छ। तर केन्द्रमा बनेको नयाँ एमाले–नेकपा समीकरणले पाँच प्रदेशमा सत्ता साझेदारी गर्ने निर्णय गरेसँगै प्रदेश राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको छ। यद्यपि मधेसका मुख्यमन्त्री कृष्ण यादव र गण्डकीका सुरेन्द्रराज पाण्डेको सरकार तत्काल जोखिममुक्त देखिएको कांग्रेसको निष्कर्ष छ। दुवै प्रदेशलाई एमाले–नेकपा सहकार्यबाट बाहिर राखिएकाले कांग्रेसले ती सरकारलाई थप मजबुत बनाउने रणनीति अघि सारेको छ।

कांग्रेसले बदलिँदो सत्ता समीकरणबीच पनि प्रदेश सरकार जोगाउने, नयाँ गठबन्धन खोज्ने र राजनीतिक सन्तुलन कायम राख्ने अभियानलाई निरन्तरता दिने संकेत दिएको छ। प्रदेश राजनीतिमा शक्ति सन्तुलन फेरिने चर्चा चलिरहेका बेला कांग्रेसले ‘अन्तिमसम्म संघर्ष’ गर्ने नीति लिएको छ।