बागलुङ । साथीको जन्मदिन मनाउन गएका १७ वर्षीय लजिन थापाको अन्त्य आफ्नै साथीहरूको हातबाट भएको खुलेपछि बागलुङमा सनसनी फैलिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार एउटा आइफोन मोबाइललाई लिएर सुरु भएको विवादले अन्ततः हत्या र शव लुकाउनेसम्मको भयावह रूप लिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार साउन १ गते बडिगाड गाउँपालिका–१ का असिम वनको जन्मदिन मनाउन लजिनसहित सात जना साथी भेला भएका थिए। उनीहरूले राति अबेरसम्म मदिरा सेवन गरेका थिए। त्यसपछि घर फर्कने क्रममा लजिनसँग रहेको आइफोन मोबाइल मागिएको र उनले दिन अस्वीकार गरेपछि विवाद सुरु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार मोबाइलको विषयमा भएको झगडा कुटपिटमा परिणत भयो। कुटाइबाट लजिन बेहोस भएपछि उनको मृत्यु भएको र त्यसपछि घटनालाई लुकाउन शवलाई घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा रहेको मनखोला क्षेत्रमा लगेर फालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ।
लजिन साउन १ गतेदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजी थालेको थियो। करिब एक सातापछि प्रहरीले प्राविधिक विशेषज्ञ, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा खोजतलास गर्दा बिहीबार उनको शव फेला परेको थियो।
काठमाडौंको धुम्बाराहीस्थित साइपाल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयका लागि घर आएका थिए। साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै नजिकका साथीहरूको हिंसाको सिकार बनेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ भने यस घटनाले किशोरहरूमा बढ्दो हिंसात्मक प्रवृत्ति, मदिरा सेवन र सामान्य विवादले समेत कस्तो गम्भीर रूप लिन सक्छ भन्ने विषयमा गम्भीर बहस खडा गरेको छ।






































