मधेस प्रदेस । बारा प्रहरीले तस्करलाई नियन्त्रणमा लिन ७ राउण्ड गोली फायर गरेको छ ।
भारतको हनुमाननगर तर्फबाट मोटरसाइकल चलाएर आएको र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीको समान लोड गरी आउँदै गरेको अन्दाजी २५ जना तस्करको टोलीलाई नियन्त्रणमा लिन प्रहरीले गोली फायर गरेको हो ।
पचरौता नगरपालिका वडा नं ६ चिकनी टोलस्थित खटिएको प्रहरीको टोलीले ७ राउण्ड र तस्कर समूहले २ राउण्ड गोली प्रहार गरेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।तस्करहरुले कटुवा पेस्तोलबाट २ राउण्ड गोली फायर गरेको थियो । प्रहरीको जवाफी फायरिङ पछि तस्कर समुह फरार भएको थिए ।
प्रहरीले घटनास्थलबाट भने बिआर ०५ बिएल ४१५४, बिआर ०५ बि ६८६४, बिआर ०५ बिडी ९८२१ र बिआर ०५ ऐडब्लु ०५०१ नम्बरको गरी ४ वटा भारतीय मोटरसाइकल बरामद गरेको छ ।
भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र भारतीय तथा नेपाली सिम फेला परेको छ । यस विषयमा थप अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ ।






































