काठमाडौँ । स्याङ्जामा ८ हजार २ सय २५ नयाँ मतदाता थपिएका छन्।
फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको मतदाता दर्ता अभियानमार्फत स्याङ्जामा ३ हजार ३ सय ३४ जना महिला, ४ हजार ८ सय ९० पुरुष र एक अन्य थपिएका निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।
गत असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्तामा लागि खुला गरिएको थियो। निर्वाचन कार्यालयमा वा राष्ट्रिय परिचयपत्रका माध्यमबाट दर्ता भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख श्रीराम थापाले जानकारी दिए।
यसरी थपिनेमा नियमित प्रक्रियाबाट कार्यालयमै पुगेर १ हजार ८४१ ले मतदाता नामावलीमा नाम दर्ता गराए भने राष्ट्रिय परिचयपत्रमार्फत ६ हजार ३८४ जनाले दर्ता गराएका छन्।
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता थिए। पछिल्लो पटक २०८२ कात्तिक १६ मा निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ३९० जना घटेर २ लाख ४१ हजार ६९९ कायम भएका छन्।






































