काठमाण्डौ  ।  प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेलगत्तै बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाइले अदालतले थप एकपटक न्याय मरेको छैन भन्ने पुष्टि गरेको बताएका छन्। 

प्रसाइले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले आग्रह गरेपछि आजदेखि गरने भनिएको आन्दोलन र आम हड्तालको कार्यक्रमको ढाँचा परिवर्तन गरिएको पनि बताए। 

'यो देशमा फेरि न्याय मरेको छैन भन्ने पुष्टि भयो। सर्वोच्च अदालतलाई मुरीमुरी धन्यवाद। मलाई गैरकानुनी थुनामा राख्न मिल्दैन भनेकोमा। ७ दिनको प्रहरी हिरासतबाट मुक्त हुँदै गर्दा मेरोबारेमा चासो र चिन्ता राख्ने सबै नेपालीलाई धन्यवाद। प्रहरीले जुन गर्‍यो त्यसका लागि पनि धन्यवाद,' उनले भने, 'साथै हामीले जुन हिसाबले यो अभियान र आन्दोलनलाई अघि बढायौँ- हामीले आन्दोलन स्थगित गरेका हैनौँ। मोडल मात्रै चेन्ज गरेका हौँ। प्रधानमन्त्री र गृहमन्त्रीले स्पेसल रिक्वेस्ट गरेकोले।'

गत सोमबार मध्यराति प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। उनले दिएको अभिव्यक्तिका कारण सार्वजनिक शान्तिमा खलल पुगेको प्रहरीको दाबी छ। सोही कसुरमा मंगलबार उनलाई ४ दिन हिरासतमा राख्न लिएको प्रहरीले शुक्रबार फेरि ५ दिन म्याद लिएको थियो।  

प्रसाईंले आइतबारदेखि अनिश्चितकालीन आम हड्ताल र आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।  आम हड्ताल विफल बनाउन प्रहरीले प्रसाईंलाई पक्राउ गरेर हिरासतमा राखेको थियो। तर, प्रसाईंको नागरिक बचाउ महाअभियानले आन्दोलनको तयारी अगाडि बढाएपछि सरकारले शनिबार राति वार्ता गरेको थियो।

वार्ताको क्रममा प्रसाईं समूह र सरकारबीच आन्दोलनका कार्यक्रम स्थगित गरेर थप छलफल गर्ने सहमति भएको थियो। अबको वार्ता प्रसाईंसहित हुनेछ।FB_IMG_1763909176585FB_IMG_1763909179560FB_IMG_1763909182674