चितवन / चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुम्बाका छोराको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीकी तीन वर्षीया नातिनी मनिसा तामाङ रहेका छन् ।
राप्ती नगरपालिका –१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियो ।
आगलागीबाट सुरज र मनिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।
काठ र टिनले बनेको घरमा आगलागी भएको हो । सोलारको ब्याट्री सर्ट भएर आगलागी भएको उनले बताए ।
घरका अभिभावक बाहिर गएका बेला घरमा आगलागी भएको थियो । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।