विराटनगर / गुन्डा नाइके अभिषेक गिरीलाई कारागार स्थानान्तरण गरी विराटनगर स्थित कारागार ल्याइएको छ । विहीबार बिहान ४ बजे गिरीलाई विराटनगर कारागार ल्याइएको कारागार स्रोतले जानकारी गराएको छ ।
विराटनगरकै स्थायी बासिन्दा गिरीलाई सरकार परिवर्तन लगत्तै विराटनगर ल्याउन खोजिएको थियो । कांग्रेस समर्थित गिरीलाई ल्याउने विषयमा तनाव बढेपछि डिल्लीबजार कारागारबाट ल्याइएका गिरीलाई कारागार प्रशासनले सप्तरी कारागार लगेको थियो ।
कारागार भित्र रहेका गिरी समर्थक र विरोधीको प्रदर्शनका कारण कारागार भित्रै सुरक्षा चुनौती समेत पैदा भएको छ । गिरी लाई विराटनगर कारागारमा ल्याउन कांग्रेस नेताहरूले कोसिस गर्न थालेपछि शान्त रहेको विराटनगर कारागारमा अशान्ति सुरु भएको हो ।
कारागार विभागले गत भदौ १७ मा नै गिरीलाई मोरङ स्थानान्तरण गर्ने निर्णय गरेको थियो । विभागको निर्णय लगत्तै विराटनगर ल्याइएका गिरीलाई कारागार भित्र गिरी विरोधीको प्रदर्शनका कारण सप्तरी पठाइएको थियो । गिरीलाई विराटनगर कारागार ल्याउँदा कठिनाइ भएपनि कांग्रेस नेताको दबावका कारण फेरि विराटनगर ल्याइएको हो ।
गिरीको स्थानान्तरणको विषयले कारागारमा समस्या आएको कारागार प्रशासनले समेत स्विकारेको छ । कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले गिरीका पक्षधर र विरोधीको आन्दोलनले वातावरण बिग्रिएको बताएका छन् । उनले गिरीलाई विराटनगर कारागार ल्याउने विषयमा आधिकारिक जानकारी भने नआएको बताएका छन् ।
गुण्डा नाइके गिरी विगतमा मोरङ कारागारमा चौकिदार थिए । गिरीले सो समयमा कैदीबन्दीलाई यातना दिएको र आपराधिक गिरोह चलाएको भन्दै कारागार विभागले २०७४ चैतमा उनलाई डिल्लीबजार कारागार स्थानान्तरण गरेको थियो ।