झापा / झापाको मेचीनगर –१५ स्थित मेची पारीको गाउँमा तीन महिनादेखि विद्युत अवरुद्ध भएको छ ।
गत भदौमा मेची खोलामा आएको बाढीले विद्युतको पोल बगाउँदा उक्त गाउँको विद्युत अवरुद्ध भएको हो ।
स्थानीय ग्वालबस्ती टोल विकास संस्थाका अध्यक्ष अमल यादवका अनुसार २० वर्षदेखि लगातारको पहलपछि ग्वाल बस्तीमा गत बैशाखमा पहिलो पटक विजुली पुगेको थियो ।
तर, गत भदौमा आएको बाढीले विजुलीको पोलसँगै २० वर्षको मेहनत समेत बगाएको अध्यक्ष यादवले बताए । बाढीले पोल बगाएसँगै अब फेरी गाउँमा बिजुली बत्ती कहिले बल्छ अन्योल छ ।
खोला क्षेत्रमा बिजुलीको पोल गाड्दा लापरवाही गरेकै कारण बाढीले यति छिट्टै पोल बगाएको स्थानीयबासीको भनाई छ ।
गाउँमा गत भदौबाट नै विद्युत अवरुद्ध भएपनि मर्मत सम्भार गर्ने तर्फ कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ ।