काठमाडौँ / नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिइरहेको बारले बिहीबार मार्चपास गर्ने भएको हो ।
बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । मार्चपासमा नागरिक समाजका सदस्यसमेत संलग्न रहने उनले बताए ।
श्रेष्ठका अनुसार बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रमको आयोजना गरिँदैछ । बारले सोमबार मात्र प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै विभिन्न दललाई पत्र बुझाएको थियो ।
प्रधानन्यायाधीश जबरा लुकेर सर्वोच्च अदालत प्रवेश गरिरहेकाले त्यसलाई रोक्न मार्चपास गर्नुपरेको अध्यक्ष श्रेष्ठको भनाइ छ।