काठमाडौँ / राष्ट्रिय जनगणना २०७८ को जनगणना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
गत कात्तिक २५ गते देखि सुरु भएको जनगणना सोमबारसम्ममा ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले सोमबारसम्म मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।
उनले भने, “केही छिटफुट भए जिल्ला जनगणना, स्थानीय जनगणना कार्यालयबाट सच्याउने काम भइरहेको छ । अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति जनगणनामा छुटेको भए आफैँले पनि चासो राखेर गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्नुपर्छ ।”
जनगणना सम्पन्न हुँदा नेपालको कुल जनसङ्ख्या तीन करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।