काठमाडौं / कैलालीको लम्कीचुहाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोप लागेका इन्स्पेक्टरका भाइ इटहरीबाट पक्राउ परेका छन् । 

लम्कीचुहा नगरपालिका –३ चिसापानी बस्ने १९ वर्षीय मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान उप–महानगरपालिका –४ बाट पक्राउ गरेको हो । मदन प्रहरी इन्स्पेक्टरका भाइ हुन् ।

OM Sai Pathibhara Hospital

उक्त प्रकरणमा पक्राउ परेका अन्य ९ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएका मध्ये अझै ६ जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी  दिए । 

गत कात्तिक २३ गते मंगलबार राति टीकापुर नगरपालिका –१ स्थित सिद्धार्थ होटल नजिकै बडुवालकाे खुकुरी प्रहार गरी हत्या गरिएको थियो । 

बडुवालको हत्या गरेको आरोपमा लम्कीचुहा नगरपालिका –३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा –१ का १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

यस्तै पक्राउ पर्नेमा टीकापुर नगरपालिका –१ का २२ वर्षीय प्रवीन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्का रहेका छन्। 

देवकोटा बाहेक पक्राउ परेका अन्य ९ जनालाई हत्याको योजनामा सघाएको आरोप लागेको छ भने देवकोटालाई चक्कु प्रहार गरेको आरोप लागेको छ।