नेपालीलाई आफ्नो मुलुकको सेनामा भर्ना गर्दै आएको बेलायतले स्वास्थ्य क्षेत्रमा पनि नेपालीलाई अवसर दिने भएको छ । सरकारी बेवास्ताले वैदेशिक रोजगारमा जानेले राम्रा अवसर गुमाईरहेको समयमा बेलायतले आकर्षक सेवा सुविधा दिने गरी १० हजार नेपाली श्रमिक लाने भएको हो ।
वैदेशिक रोजगारीमा कोरोनाका कारण संकट आएका बेला कतारबाट सुरक्षाकर्मीका लागि आएको अवसर गुमाएका नेपालीका लागि बेलायती प्रस्तावले वैदेशिक रोजगारीको क्षेत्रमा नयाँ ढोका समेत खोल्ने छ ।
बेलायतले नेपाली नर्स लगे अन्य मुलुकले समेत लाने सम्भावना बढ्ने भएकाले स्वदेशमा नै न्युन पारिश्रमिकमा काम गर्दै आएका नर्सको सेवा सुविधा वृद्धि गर्न समेत यो प्रस्तावले निजी क्षेत्रका स्वास्थ्य संस्थामाथि थप दवाव समेत बढाउने छ । स्वास्थ्य क्षेत्रमा संसारकै अब्बल मानिएको बेलायतले नेपाली नर्सलाई आफ्नो मुलुकमा रोजगारीको अवसर दिने भएपछि नेपाली स्वास्थ्यकर्मीका लागि अन्य मुलुकमा समेत रोजगारीको ढोका खुल्ने अवस्था बन्ने छ ।
नेपालस्थित बेलायती राजदूतवासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सरकारीस्तरमा श्रम सम्झौता गरेर १० हजार नर्स रोजगारीका लागि आफ्नो मुलुक लाने औपचारिक रुपमा नै प्रस्ताव गरेको छ । बेलायतको प्रस्ताव आए लगत्तै श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठको निर्देशनमा मन्त्रालयले द्विपक्षीय सम्झौता समेत अघि बढाएको छ । विगतमा सरकारी बेवास्ताले कतारी सुरक्षाकर्मीका लागि आएको अवसर गुमेको भन्दै मन्त्रीले तत्काल सम्झौता गरी बेलायत पठाउने काम थाल्न निर्देशन दिएको मन्त्रालयका अधिकारीले जानकारी गराएका छन् ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव सचिव सूर्यप्रसाद गौतमले बेलायती प्रस्ताव आए लगत्तै नेपाली नर्सलाई बेलायत पठाउन पकृया थालिएको बताएका छन् । बेलायतले पहिलो चरणमा १० हजार नर्स लाँदा अनुभव भएकालाई मात्रै लाने गरी प्रस्ताव गरेको छ । सचिव गौतमका अनुसार बेलायत जानका लागि नर्ससँग पर्याप्त तालिम र अस्पतालमा काम गरेको अनुभव भने हुनुपर्ने छ ।
बेलायतको प्रस्ताव अनुसार बेलायत जान छनौट भएका नर्सले मासिक तलब २ लाख ५० हजारभन्दा बढी पाउने छन् । रोजगारदाताले नै सबै खर्च व्यहोर्ने गरी बेलायत जान छनौट भएका नर्सले मासिक तलब सहित रोजगारीको ग्यारेन्टी, पारिवारिक सुविधा, स्वास्थ्य र बीमा सुविधा सहित बिदामा आउँदा जाँदा लाग्ने खर्च समेत रोजगारदाता ले नै व्यहोर्ने गरी सम्झौता गर्ने सरकारले तयारी गरेको छ ।
बेलायती प्रस्ताव अनुसार नेपाली नर्स पठाउनका लागि बेलायत र नेपाल बिच श्रम सम्झौता हुनु पर्ने छ । बेलायत सँग श्रम सम्झौता अहिलेसम्म नभएकाले नेपालले सम्झौताका लागि समेत प्रस्ताव तयार पारिरहेको मन्त्रालयका सचिव गौतमले जानकारी गराएका छन् । उनले सम्झौता छिट्टै भएको खण्डमा सन् २०२२ को जुनबाट नेपाली नर्स बेलायत जाने प्रकृया सुरु हुने बताएका छन् ।