काठमाडौं । सिरियाका अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई अदालतले युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

सन् २०२४ मा सत्ता गुमाएर रुसको मस्को पुगेका असदविरुद्ध सिरियाको अन्तरिम सरकारले अघि बढाएको कानुनी प्रक्रियामा अदालतले यस्तो फैसला सुनाएको हो। यो निर्णयसँगै दशकौँसम्म सिरियाको सत्तामा रहेको असद परिवारमाथि न्यायिक कारबाहीको प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ।अदालतले असदका नातेदार तथा दारा प्रान्तका पूर्व राजनीतिक सुरक्षा प्रमुख आतेफ नजीबलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ। उनलाई बालबालिकाको हत्या र मृत्यु हुने गरी यातना दिएको लगायतका गम्भीर अपराधमा दोषी ठहर गरिएको हो।

दाराबाट सुरु भएको विद्रोह, सत्ताको पतनसम्म

नजीबमाथिको अभियोग सिरियाको गृहयुद्ध सुरु भएको घटनाक्रमसँग प्रत्यक्ष जोडिएको छ।सन् २०११ मा दारा सहरका केही किशोरले सरकारविरोधी भित्ते लेख लेखेपछि उनीहरूलाई पक्राउ गरी यातना दिइएको थियो। त्यसपछि स्थानीय रूपमा सुरु भएको विरोध प्रदर्शनमाथि सुरक्षा बलले गरेको दमनले आन्दोलनलाई थप उग्र बनायो।

दारा हुँदै फैलिएको विद्रोह अन्ततः देशव्यापी संघर्षमा परिणत भयो र सिरिया लामो गृहयुद्धमा फस्यो। युद्धका क्रममा लाखौँ मानिसले ज्यान गुमाए भने ठूलो संख्यामा नागरिक विस्थापित भए।

अदालतको कठघरामा असद शासनका अधिकारी

असद परिवारको पाँच दशकभन्दा लामो शासन अन्त्य भएपछि अन्तरिम सरकारले पूर्वशासनका उच्च तहका अधिकारीमाथि कानुनी कारबाही अघि बढाएको छ।त्यसैक्रममा नजीबलाई उच्च तहमा मुद्दा चलाइएका प्रमुख अधिकारीमध्ये एकका रूपमा अदालतमा उपस्थित गराइएको थियो। फैसला सुनाउँदा उनलाई अदालतभित्र पिँजडामा राखिएको थियो।असद भने सत्ता ढलेपछि परिवारसहित सिरियाबाट भागेर मस्को पुगेका थिए।

एक दशकभन्दा बढी समय युद्धमा जलेको सिरियामा अब न्यायको प्रश्न निर्णायक मोडमा पुगेको छ। सत्ताबाट विस्थापित असदविरुद्ध आएको मृत्युदण्डको फैसलाले उनको शासनकालमा भएका कथित दमन र मानवअधिकार उल्लंघनमाथिको कानुनी बहसलाई थप तीव्र बनाएको छ।