काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य, सामाजिक न्याय, कूटनीति, वैदेशिक रोजगार र कर्पोरेट क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ।
सरकारले विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनलाई कर छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले गरेका मुख्य निर्णय यस्ता छन् :
विद्युत्बाट चल्ने एम्बुलेन्सलाई कर छुट
नेपालमा पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय सरकारले गरेको छ।विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीतिअनुसार स्वास्थ्य तथा शव व्यवस्थापनमा प्रयोग हुने यस्ता सवारीलाई कर छुट दिने निर्णय गरिएको हो।
प्रदर्शनमा मृत्यु भएका चार जनालाई शहीद घोषणा
सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सरकारले शहीद घोषणा गरेको छ।शहीद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादव छन्।यस निर्णयले प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारप्रति राज्यको औपचारिक सम्मान र जिम्मेवारीसमेत जोडिएको छ।
काठमाडौंमा पोर्चुगलको काउन्सिलर कार्यालय खुल्ने
सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिएको छ।यसले नेपाल र पोर्चुगलबीच कन्सुलर सेवा तथा नागरिकसम्बन्धी कामलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगार बोर्डमा उप्रेती
मन्त्रिपरिषद्ले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक तथा उनीहरूका परिवारसँग प्रत्यक्ष जोडिने बोर्डको नेतृत्वमा नयाँ नियुक्ति गरिएको हो।
एनसेल सेयर खरिद–बिक्रीको प्रतिवेदन सार्वजनिक हुने
मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।
एनसेलको सेयर कारोबारबारे लामो समयदेखि उठ्दै आएका प्रश्न र विवादका बीच सरकारले छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।यसरी एउटै बैठकबाट सरकारले विद्युतीय स्वास्थ्य सवारीलाई कर छुट, प्रदर्शनमा मृत्यु भएकालाई शहीद घोषणा, पोर्चुगलसँग कन्सुलर सहकार्य, वैदेशिक रोजगार बोर्डमा नेतृत्व परिवर्तन र एनसेलसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।






































