रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।
मंगलबार दिउँसो करिब १ः५० बजे नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन्। घटनालगत्तै सुरक्षाकर्मी घटनास्थल पुगे पनि लामो समयसम्म खोजी गर्दा उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।बेपत्ता हुनेमा १० वर्षीय मोहम्मद रमतुल्लाह, १० वर्षीया रौशन खातुन र १० वर्षीया सवनम खातुन रहेका छन्।
घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले नदीमा खोजी थालेको थियो। सामान्य खोजीबाट बालबालिका फेला नपरेपछि सशस्त्र प्रहरीले डाइभिङ तथा उद्धार टोली रबर बोटसहित घटनास्थलमा पठाएको छ।सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको नेतृत्वमा नौ सदस्यीय डाइभिङ टोली उद्धारमा खटिएको हो। यसअघि पनि सशस्त्र प्रहरीको सात जना र नेपाल प्रहरीको १६ सदस्यीय टोली खोजीमा परिचालन भइसकेको थियो।
गहिरो र तीव्र बहावले खोजीमा चुनौती
लालबकैया नदीमा पानीको बहाव र गहिराइ बढी रहेकाले उद्धारमा कठिनाइ भइरहेको सुरक्षाकर्मीले बताएका छन्। सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दासमेत नदीमा बेपत्ता बालबालिकाको खोजीमा जुटेका छन्।तीन बालबालिका एकैपटक बेपत्ता भएपछि घटनास्थलमा परिवारजनको रुवाबासी चलेको छ। डाइभिङ टोली परिचालन भएसँगै अब नदीको गहिरो भागमा समेत खोजी तीव्र पारिएको छ।प्रहरीका अनुसार बेपत्ता तीनै बालबालिकाको खोजी तथा उद्धार कार्य जारी छ।






































