काठमाडौँ / काठमाडौँको थापाथलीस्थित प्रसुती गृह अस्पतालमा पछिल्लो ६ महिनामा ३६३ नवजात शिशुको मृत्यु भएको छ ।
देशभरकै सबैभन्दा वढी प्रसुती गराउने प्रसूति गृहमा गत वैशाखदेखि असोज सम्ममा १२५ बालक र ११२ जना नवजात बालिकाको मृत्यु भएको हो ।
स्वस्थ आमाबाट जन्मेका केही समयमा शिशुहरूको मृत्यु हुने गरेको अस्पतालले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । ६ महिनामा १ सय २६ नवजात शिशुको मृत्यु भएको छ । ६९ शिशु बालक र ५७ नवजात बालिका शिशुको मृत्यु भएको हो ।
समय नपुगी बच्चा जन्मनु र मृत्यु हुनुमा आमाको स्वास्थ्यमा समस्या हुन सक्ने अस्पतालकी नर्सिङ प्रमुख आशालक्ष्मी प्रजापति बताइन्। आमाको स्वास्थ्य अवस्था राम्रो भएमा स्वास्थ्य बच्चा जन्मन सक्ने उनको भनाइ छ । आमाको उच्च रक्तचाप वृद्धि हुँदा बच्चाको मृत्यु हुने गरेको छ ।
१७ वर्षभन्दा तलका र ३५ वर्ष माथिका आमाहरूबाट जन्मेका बच्चाको बढी मृत्यु बढी हुने गरेको प्रजापतीले बताइन् । उनका अनुसार गर्भावस्थामा आमाले औषधी सेवन गर्दा पनि बच्चा रोगी जन्मिने र चाँडै मृत्यु हुने गर्दछ ।
अन्य अस्पतालको ४८ प्रतिशत बढी आमाले प्रसूति गृहमा बच्चा जन्माउने गरेका छन् । अस्पतालमा २४ घण्टामा ६२ जना आमाले बच्चा पाउने गरेको तथ्याङ्कमा उल्लेख छ ।
अस्पतालमा २० देखि २९ वर्ष उमेर समूहका बढी आमाहरूले बच्चा जन्माउने गरेका छन् । असोजमा मात्र कुल २ हजार २ सय ७० आमाले बच्चा जन्माएका थिए ।
वैशाखदेखि असोजसम्ममा विभिन्न उमेर समूह गरी १० हजार ९७३ आमाले बच्चालाई जन्माएका थिए । ४० देखि ५० वर्ष उमेर समूहका आमाहरूले कमै मात्रामा सन्तानलाई जन्म दिने गरेको तथ्यांकमा उल्लेख छ ।
असोज महिनामा मात्र चार जना आमाको मृत्यु भएको थियो ।