उदयपुर / उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा  त्रियुगा नगरपालिका –९ गैरुनका ४० वर्षीय बौका सदा रहेका छन् । 

आज बिहान ८ः५० बजे मदन मण्डारी लोकमार्ग हुँदै गाईघाटबाट ताप्ली गाउँपालिका भवनको ढलानका लागि मजदुर लिएर जाँदै गरेको  प्र २–०१–००१ त १०८३ नम्बरको ट्याक्टर उदयपुरगढी गाउँपालिका –६ दनुवारबेँशीमा दुर्घटना भएको हो । 

OM Sai Pathibhara Hospital

दुर्घटनाबाट गम्भिर घाइते भएका सदाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

सोही दुर्घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए । 

घाइतेमध्ये त्रियुगा नगरपालिका –९ गैरुनका मृतक सदाका श्रीमती ४० वर्षीया नारायणवति सदा, १६ वर्षीय सकुन सदा, त्रियुगा नगरपालिका –१० करमगाछीका ट्याक्टर चालक २० वर्षीय दिवस सार्की गम्भीर घाइते भएका छन् । 

घाइते तीनै जनालाई जिल्ला अस्पताल गाईघाटमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

अन्य १५ जनालाई भने सामान्य चोटपटक लागेकाले उनीहरूको जिल्ला अस्पतालमै उपचार भइरहको डीएसपी गौतमले जानकारी दिए ।