इटहरी / नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका २१ जना कार्यकर्तालाई सुनसरी प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । नेकपाले आव्हान गरेको बन्द सफल बनाउन भन्दै यातायात र बजार बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ । पक्राउ परेकामा नेकपा सम्वद्ध युवा विद्यार्थी सङ्गठनका कार्यकर्ता रहेको प्रहरीले जानकारी गराएको छ ।
एलपी ग्यास र पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपाले नेपाल बन्दको आह्वान गरेको थियो । मंगलबार बिहानैदेखिको बन्दका कारण प्रदेश एकका इटहरी,बिर्तामोड , इनरुवा, बिर्तामोड, दमक र विराटनगर लगायत बजार प्रभावित बनेका छन् ।