काठमाडौँ / काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।    

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा छ ।

OM Sai Pathibhara Hospital

दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना छैन”, उनले भनिन् । 

वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस  छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।