विराटनगर / शनिबार बेलुका प्रदेश १ का विभिन्न स्थानमा भएकाे सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
शनिबार बेलुका ६ बजे मोरङको केराबारी गाउँपालिका –९ बेलचौरी स्थितमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो एक आपसमा ठोकिँदा मोटरसाइकल सवार तिन जना मध्ये दुईजनाको घटनास्थलमा नै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका –२ का ३० वर्षीय कमल कार्की र पछाडि सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ वर्षीय तिलक बहादुर सुबेदी रहेका छन् ।
पछाडि सवार लेटाङ नगरपालिका –२ कि ४५ वर्षीया सिता कार्की घोपा धरानमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो ।
गाडी र गाडी चालक लेटाङ नगरपालिका २ का ४७ वर्षीय पुष्प बहादुर मगर इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।
यस्तै, शनिबार बेलुका पौने ६ बजे मोरङ रंगेली नगरपालिका –६ टकुवा–पिपल चौकमा सुनवर्षी नगरपालिका –६ पटियापाडाका ३० वर्षीय सत्रुघन साहको साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनाबाट घाईते भएका साहको उपचारको क्रममा रंगेली अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी शनिबार बेलुका ६ बजे उदयपुरको त्रियुगा नगरपालिका –११ मेन चोक स्थितमा पुर्व तर्फ जादै गरेको स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पूर्व तर्फ जादै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
दुर्घटनामा परी मेची नगरपालिका १० का ४२ वर्षीय डिल्ली कार्की, पछाडी सवार उनका छोरा १६ बर्षीय मनिस कार्की र अर्को मोटरसाईकल पछाडी सवार झापा हल्दिबारी गाउँपालिका –२ का २१ बर्षीय पिजेश लामा घाईते भएका थिए ।
घाइते मध्ये मनिसको उपचारको क्रममा राती ९ बजे वीएन्डसी अस्पताल मृत्यु भएको हो ।
त्यस्तै शनिबार राती साढे ११ बजे झापा मेचीनगर नगरपालिका –१३ तेलिबारीमा पूर्व तर्फ जादै गरेको प्रदेश–१–०४–०१४प.३३४५ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जादै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा ४ जना घाईते भएका थिए ।
घाईते हुनेहरुमा २१ वर्षीय अनिष गिरी, १८ वर्षीय अभिषेक श्रेष्ठ, २१ बर्षीय निकेश शिवकोटी र २१ बर्षीय प्रबिण मेचे रहेका छन् ।
घाईते मध्ये अभिषेक श्रेष्ठको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको छ भने बाकी ३ जनाको सोही अस्पतालमानै उपचार भइरहेको छ ।