मकवानपुर / मकवानपुरको पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका –९ नेवारपानीमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हेटौंडा –१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेका छन् ।
रौतहटको गौरबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
बसको ठक्करबाट सङ्गम नेपाली, निशा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका छन् । घाइते उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको रिमालले बताए ।
चालक भने फरार रहेका छन् भने, बसलाई स्थानीयवासीले आगजनी गर्दा बस पूर्णरुपमा जलेर नष्ट भएको छ ।