विराटनगर / भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अबको ६ देखि सात महिनाभित्रमा सुकुमबासीहरुलाई धनीपूर्जा बाँड्न नसके भूमि आयोगबाट आफूले राजीनामा दिने बताएका छन् ।

नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी –६ बिहिबारे बजारमा आयोजना गरेको  ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले सुकुमबासीहरुलाई धनीपूर्जा वितरण गर्ने ग्यारेन्टी नभएको खण्डमा राजीनामा दिने बताए । ‘यो सहिदहरुको रगतले पोतिएको धर्ती हो कानेपोखरी, तपाईँहरू सुकुमबासीहरुको अगाडि उभिएर भनेको छु, समस्या सावधान गर्न लागि पर्नेछु ।

अबको ६ देखि ७ महिनाभित्रमा तपाईँहरूलाई धनीपूर्जा वितरण गर्ने ग्यारेन्टी लिएको छु,’ उनले दाबीको साथ भने, ‘यस अवधिमा धनीपूर्जा वितरण भएन भने भूमि आयोगको गाडीमा यसरी घुम्ने छैन ।’ 

३६ महिनामा सरकारमा रहँदा पनि केपी ओली नेतृत्वको पार्टीले धनिपूर्जा दिन आलटाल गरेको उनको भनाइ
थियो । ‘यसअघि २२ पटकसम्म भूमि आयोग गठन भयो । तर काम भएन । किसान र भूमिको विषय बुझेका मान्छे थिएनन् । 

त्यो मात्र होइन ओलीले सुकुमबासीलाई धनीपूर्जा वितरण गर्ने इच्छाशक्ति पनि देखाएका थिएनन्,’ उनले भने, ‘प्रचण्डले मलाई सुकुमबासीले धनीपूर्जा वितरण नगरे मुखै हेर्दिनँ भन्नुभएको छ ।’

‘अहिलेसम्म बनेका आयोगले फर्म मात्र भर्ने मात्र काम गरे । केपी ओलीले पनि त्यही गरे,’ उनले भने, ‘अब हामी सुकुमबासीलाई धनीपूर्जा वितरण गर्नेछौ । त्यो पनि चुनावभन्दा अगाडि दिइन्छ । माघ मसान्तभित्रमा धनीपूर्जा सुकुमबासीलाई बाँडिन्छ ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेती सुशीलले अहिलेको गठबन्धनको सरकारले सुकुमबासीहरूको धनीपूर्जा वितरण गर्ने बताए । 

सुकुमबासीको भावना र समस्या बुझ्ने भएकोले अहिलेको वर्तमान सरकारले सुकुमबासीलाई धनीपूर्जा दिन पनि पहल कदमी गर्ने उनले बताए । 

कार्यक्रममा नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिका सह–इन्चार्ज अर्जुन आचार्य, अम्बिका आर्याल, कांग्रेस कानेपोखरी गाउँपालिकाका सचिव विवेक लिम्बू, नेकपा एकीकृत समाजवादीका संयोजक भूमि दुलाललगायले बोलेका थिए ।

त्यस अवसरमा भूमिहीन सुकुमबासीहरुले पटकपटक कार्यक्रम गर्ने र पटकपटक प्रतिबद्धता गर्दै चुनाव जित्ने तर समस्या समाधान नगरेको भन्दै नेताहरूको आलोचना गरेका थिए ।