सप्तरी / सप्तरीको सम्सी गाउँपालिका –१ पर्सादेवाडस्थित राजीव ज्वेलर्सबाट नगदसहिद नौ लाख मूल्य बराबरको सामान चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका –२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवान रहेका छन् ।
गत असार ३ गते राति पासवानकै योजनामा सशस्त्र हतियारधारी डाकाले पर्सादेवाडका वीरेन्द्र साहको घरका परिवारजनलाई गोली प्रहार गरी सुनचाँदीका गहना र नगद लुटपाट गरेकाे प्रहरीले जनाएको छ ।
घटनाका योजनाकार भनेर पहिचान भइसके पनि लुक्दैछिप्दै आपराधिक गतिविधि सञ्चालन गर्दै आएका पासवानलाई चार महिना पछि जिल्लाकै सोनमा गाउँपालिका –३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तहरीले जनाएको छ ।
लुटपाटका क्रममा सशस्त्र डाकाको समूहले घरमूली वीरेन्द्र साहको ढाडमा गोली प्रहार गर्नुका साथै निजकी पत्नी सुशीलादेवी, छोरा शम्भु र राजीव तथा छोरी कञ्चनलाई फलामे रड प्रहार गरी घाइते बनाएको थियो ।