ताप्लेजुङ / नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको तीन ओटा उडान कटौती गर्दा यात्रु मारमा परेका छन् ।
प्रत्येक साताको चार दिन नियमित उडान हुने गरेको सुकेटार विमानस्थलका तीन उडान निगमले कटौती गरेपछि यात्रु मारमा परेका हुन् ।
साताको एक दिन (बुधबार) मात्र उडान गर्नेगरी निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएकाले तीन ओटा उडान कटौती गरिएको ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले जानकारी दिए ।
लिम्बुका अनुसार यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो । यता निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट गरेका करिव ७० जना यात्रु अलपत्र परेका छन् ।
स्टेसन इन्चार्ज लिम्बूले भने, –“पहिलेको उडान तालिकानुसार यात्रुलाई टिकट बिक्री गरियो, केन्द्रले उडान कटौती गरेसँगै जहाज नआएपछि यात्रु अलपत्र परेका हुन् ।”
यता यात्रुको चाप भइरहने जिल्लाको उडान कटौती गर्दा धेरै यात्रु हवाई सुविधाबाट बञ्चित भएका छन् । ताप्लेजुङ पूर्वको पर्यटकीय जिल्ला भएकाले पनि यहाँ अधिक यात्रु हुने गरेका छन् ।
काठमाडौं–ताप्लेजुङ मात्र नभई ताप्लेजुङ–विराटनगरमासमेत उडान सञ्चालन गर्नुपर्ने माग भइरहेका बेला उडान कटौती गर्नु यात्रुलाई हवाई सेवाबाट बञ्चित गर्ने कार्य भएको जिल्लावासीले बताएका छन् ।
निगमको भाडा दर भने काठमाडौं–ताप्लेजुङलाई प्रतिव्यक्ति सात हजार ३७० रुपियाँ रहेको छ । सुकेटारमा नेपाल एयरलाइन्सबाहेक सीता एयरलाइन्सले हप्तामा दुई दिन काठमाडौं–ताप्लेजुङ र कुनै बेला ताप्लेजुङ–भद्रपुर उडान गर्ने गरेको थियो ।