पाँचथर / फिदिम नगरपालिका –४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको लेटाङका सात वर्षीय प्रज्ज्वल मगर, इलामका ३४ वर्षीया प्रमिला देवान र उनका सात महिने छोरा निश्चल देवान रहेका छन् ।
उनीहरूको पाँचथरको समर्पित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । मृतक एक जनाको भने पहिचान खुल्न सकेको छैन् ।
घाइतेमध्ये ४ जनालाई झापा रेफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । घाइते १३ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट विपी अस्पताल धरान लाने तयारी गरिएको छ ।
जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पतालमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।
फिदिम –४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो ।
दुर्घटनामा बसमा सवार ६५ यात्रु घाइते भएका थिए । घाइतेमध्ये १५ बालबालिका छन् ।