बिर्तामोड / काठमाडौँको सिनामङ्गलबाट मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका –४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेका छन् ।
खड्काले दुई वर्षअघि पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी आठ लाख ५४ हजार रुपैयाँ लिई बेचबिखन गरेको ब्युरोले जनाएको छ ।
गिरोहले भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्याण्ड पुर्याएका थिए । खड्कासँगै कोठा बस्ने अर्का भारतीय अभियुक्त परविन्दर सिंहसमेतले यौनशोषण गरी धम्की दिई मलेशिया लगेर अलपत्र पारेका थिए ।
मलेसियामा अलपत्रपरेकी पीडित महिला आफन्तको सहयोगमा एक वर्षअघि नेपाल आउन सफल भएकी प्रहरीले जनाएको छ । उनीहरूले महिलालाई कम्बोडियासमेत पुर्याएको फेला परेको छ ।
पीडित महिलाले दिएको जाहेरीका आधारमा ब्युरोबाट खटिएको प्रहरीले फरार रहेका खड्कालाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।