ताप्लेजुङ  / ताप्लेजुङमा प्रेमिकाको हत्या गरेको आरोपमा एक युवकलाई कारागार चलान गरिएको छ ।

प्रेमिकाको हत्या गरेको आरोप लागेका फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

OM Sai Pathibhara Hospital

फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिम घर भएकी प्रेमिका १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको हत्या गरेको आरोपमा गत असोज १० मा कार्की पक्राउ परेका थिए । 

हत्या गरिएकी पुष्पाका आफन्तले दिएको किटानी जाहेरीपछि पक्राउ परेका कार्कीलाई जिल्ला अदालतको थुनछेक आदेशअनुसार शुक्रबार ताप्लेजुङ कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सदरमुकाम फुङ्लिङको बिहिबारे टोलमा डेरा गरी बसेर कक्षा ११ मा अध्ययनरत पुष्पाको प्रेमी कार्कीले असोज ८ गते बिहान हत्या गरेका थिए । 

सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका –४ र  ७ को सिमानामा पर्ने सेती चौतारास्थित निगाले भीरमा हत्या गरेर फालेको अवस्थामा पुष्पाको शव फेला परेको थियो ।

प्रहरी अनुसन्धानको क्रममा डेरा बसेको कोठा नजिकबाट मोटरसाइकलमा चढाएर सेती चौतारामा पुर्‍याएपछि मरणासन्न हुनेगरि टाउकोमा ढुङ्गाले प्रहार गरेर भीरमा धकेलेको र अन्तिममा विषसमेत खुवाएर कार्कीले पुष्पाको हत्या गरेको खुलेको थियो ।

उक्त दिन पुष्पाको हत्या गर्नुअघि कार्कीले जबरजस्ती करणीसमेत गरेका थिए ।