कुख्यात अपराधी अमर टण्डनलाई जोगाउन भूमिका खेलेको अभियोगमा पूर्व आईजीपी ठाकुर प्रसाद ज्ञवाली सहित २१ प्रहरी उच्च अधिकारीमाथि कारवाही हुने भएको छ ।

अपहरणमा संलग्न टण्डन समुहले १४ वर्षअघि २०६४ माघ २९ गते अपहरण गरेका बुटवलका ६२ वर्षीय टीकाराम अर्यालले दिएको किटानी जाहेरीको विषयमा अनुसन्धान नै नगरी म्याद गुजारेको अभियोगमा प्रहरी उच्च अधिकारीमाथि कारवाही हुने भएको हो ।  

प्रहरी प्रधान कार्यालयले अर्याल अपहरणको विषयमा अनुसन्धान गर्न एसएसपी भीम ढकालको नेतृत्वमा  बनाएको तीन सदस्यीय छानबिन समितिले  उच्च प्रहरी अधिकारीको भूमिका शंकास्पद देखिएको भन्दै उनीहरु  माथि कारवाहीको सिफारिस गरेको हो ।

अर्याल अपहरणको अनुसन्धानमा संलग्न केहि प्रहरी अधिकारी अवकाश भएकाले बहालवाला प्रहरी अधिकारीमाथि कानुन बमोजिम कारवाही गर्न छानविन समितिले सिफारिस गरेको छ ।  

अवकाश प्राप्त प्रहरी अधिकारीमाथि कारवाहीका लागि प्रहरी नियमावलीमा व्यवस्था नरहेकाले केहीले भने कारवाहीबाट उन्मुक्ति पाउने भएका छन् ।

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवर अर्याल अपहरणका विषयमा बनेको छानविन समितिले प्रतिवेदन बुझाएको पुष्टि गरेका छन् । उनले प्रहरीका कारण न्यायिक प्रकृया समाप्त भएकाले कमजोरी गर्ने प्रहरी अधिकारीमाथि कारवाही हुने बताएका छन् ।  

प्रहरी नियमावलीमा अनुसन्धानमा कमजोरी तथा प्रहरी आचरणविपरीत काम गर्नेलाई सचेत गराउनेदेखि बर्खास्त गर्न सक्ने सम्म व्यवस्था रहेको छ ।