बिर्तामोड / आइतबार देखि लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ९२ जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता भएका छन् ।
वर्षाका कारण प्रदेश –१ मा मात्रै ५३ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३० जनाको मृत्यु भएको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा सबैभन्दा बढी पाँचथरमा मात्रै २७ जनाको मृत्यु भएको छ । त्यस्तै इलाम र डोटीमा १३–१३ जनाको मृत्यु भएको छ ।
यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्यूठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् ।