मकवानपुर//भारतीय ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा टंयाकीबाट ग्यास चोरी गर्ने बुलेटका चालकहरू र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा होटेल संचालक ४३ वर्षीय भरत कार्की, नएल०१एन०१३१ नम्बरको ग्यास बुलेटका चालक चुनु कुमार र यूपी–७०बीटी ९९९६ का चालक विपिन कुमार रहेका छन्।
भारतबाट आएका ग्यास बुलेटले नेपालका ग्यास कम्पनीहरूलाई ग्यास ढुवानी गर्ने गरेका छन् ।
नयाँबस्तीमा होटल सञ्चालन गर्दै आएका कार्कीले ग्यासका बुलेट चालकहरूसँगको मिलेमतोमा सिलिन्डरमा ग्यास भर्ने गरेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको टोलीले कार्कीलाई होटलबाट ग्यास सिलिन्डरसहित पक्राउ गरेको हो ।
उनले भरिएको सिलिन्डर गाउँ लगेर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी गराएका छन्।
कार्कीको होटलबाट कम्पनीको खाली सिलिन्डर १८ थान र भरिएको १३ थान गरी ३१ थान सिलिन्डर समेत बरामद गरिएको प्रहरी निरीक्षक दासले जानकारी गराएका छन्।
नियन्त्रणमा रहेका ग्यास बुलेट उनीहरूले पोखराको शक्ति ग्यास उद्योग र धादिङको क्याप्सन ग्यास उद्योगका लागि भारतबाट ल्याएका थिए ।
भारतीय बुलेट चालकहरूले कार्कीको पसलमा यसअघि पनि अवैध रुपमा ग्यास बिक्री गर्दै आइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चालकहरूले एक हजार रुपैयाँमा होटल सञ्चालक कार्कीलाई बिक्री गर्ने र उनले गाउँमा १३ सय रुपैयाँमा ग्यास दिँदै आएको खुलेको हो ।
कार्कीले बुलेटबाट सिलिन्डर भर्न फलामको पातामा पाइप जोडिएको घरेलु उपकरण निर्माण गरेका थिए ।