बिर्तामोड / आमरण अनशनरत रुबी खानले अनशन तोड्ने भएकी छिन् ।
सरकार र आमरण अनशनरत रुबी खानसहित धर्नामा बसेका महिलाहरूबीच सहमति भएसँगै खानले आफ्नो अनशन तोड्ने भएकी हुन् ।
सात दिनभित्र प्रतिवेदन बुझाउने गरी गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएसँगै अनशन स्थगित गर्न सहमत भएको हो ।
अनशनरत रुबीले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने माग राखेकी थिइन् ।
गृहमन्त्रालयका अधिकारीहरूले भने दोषी देखिएकालाई कारबाही गर्ने र खानको मागप्रति सकारात्मक रहेको बताएका छन् ।
मानवअधिकारकर्मी मोहना अन्सारीले सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने बताइन् ।
नेपालगञ्जका दुई हिंसाको घटनामा प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै नेपालगञ्जका ११ महिलासहित १४ जना २० दिन हिँडेर न्यायको खोजीमा काठमाडौं आएका थिए । उनीहरूले माइतीघर मण्डलामा लगातार धर्ना दिइरहेका छन् ।