बिर्तामोड / नेपालमा अहिले बंगालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ । 

हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ। सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरू मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भु–भागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाकी हिमाली भूभागहरुका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।