मोरङ / मोरङको धनपालनाथ गाउँपालिकाको कर्सियाको सिटिजन्स बैंकबाट लुटेराको समूहले २१ लाख रुपैयाँ चोरी गरेको छ ।
सोमबार दिउँसो ४ बजे तिर पेस्तोलसहित आठ जनाको समूहमा आएका लुटेराहरूले बैँकका सुरक्षा गार्डलाई गोली हानी २१ लाख रुपैयाँ रकम चोरी गरेको मोरङ प्रहरीले जनाएको छ ।
लुटेरा समूहले पेस्तोलबाट २ राउन्ड गोली चलाएकोमा एक राउन्ड गोली सुरक्षा गार्डलाई लागेको र अर्को गोली भने लुटेरा समूहकै सदस्यलाई लागेको बताइएको छ ।
गोली लागेर घाइते भएका बैँकका सुरक्षा गार्ड ३७ वर्षीय शीतल कुँवरको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
बैंक लुट्नलाई भारतीय नागरिक प्रयोग गरिएको खुलेको छ । नेपालीकै योजनामा लुटपाट भएको र त्यसमा ७ जना भारतीय नागरिक प्रयोग गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनालगत्तै मोरङ प्रहरीले शंकास्पद तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा श्याम मुखिया, सुनिल यादव र विजय यादव रहेका छन् ।
बैंक लुटेर भाग्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा एक जना नेपाली र दुई जना भारतीय रहेका छन् ।
बाँकी पाँच जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रातिदेखि नै सीमा सिल गरेर सर्च अपरेसन थालेको जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी जनार्दन जिसीले जानकारी दिए ।