बिर्तामोड / गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।
संघको आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो ।
तर, प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटकसम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार बैठकले आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरि सो विश्व सम्मेलन स्थगित गरिएको हो ।
एनआरएनएमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहले प्रतिनिधि चयनमा विवाद रहेको दावी गर्दै परराष्ट्रमा उजुरी दिएका थिए । सो उजुरीपछि परराष्ट्रले दुई पटकसम्म एनआरएनएलाई पत्र काटेको थियो ।