काठमाडाैँ / दशैँ मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा वढी भाडा लिने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरूलाई यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनधिकृत रूपमा भाडा उठाई बिचौलियाको काम गरेको भन्दै पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । 

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क –३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा रहेका छन् । 

भट्टराईले दसैँ–तिहार मनाउन घर जानेहरूको अरू समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको जानकारी दिए । 

उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरुन्तै कारबाही गर्ने पनि बताए ।