बिर्तामोड / नेपालगञ्जदेखि १३ जना महिला र दुई जना पुरुष २० दिन सम्म पैदल हिडेर न्याय खोज्दै काठमाडौँ पुगेका छन् । घरेलु हिंसापीडित नकुन्नी धोबीको हत्या र निर्मला कुर्मी बेपत्ता बनाउनेलाई कारवाहीको माग गर्दैै उनीहरु काठमाडौ पुगेका हुन् ।
गत साउन ५ गते नकुन्नीको घरमै हत्या भएको थियो भने एकल महिला निर्मला कुर्मी अघिल्लो वर्ष बेपत्ता भएकी थिइन् । दुवै घटनाको जाहेरी दिएपनि प्रहरी, जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयले जाहेरी नलिए पछि आफूहरु काठमाडौ आएको नकुन्नीका भाइ २८ वर्षीय माताप्रसाद धोवी बताए ।
घरमै भएको हत्याको छानबिन होस भनेर २० दिनसम्म नकुन्नी धोबीको परिवार र आफन्तजन बाँके जिल्ला प्रशासन र अदालत अगाडि धर्ना बस्यो । तर, मुद्दामा घुसपैठ गरेर आरोपी पक्षले प्रशासनलाई आफ्नो आतमा लिन खोजेपछि आफूहरु काठमाडौँ आएको माताप्रसादको भनाइ रहेको छ ।
२० दिन सम्म खाली खुट्टा हिड्दा उनीहरुको खुट्टामा जताततै घाउ नै घाउ बनेको छ ।
अहिले स्थानीय सरकार बनेको छ, प्रदेश सरकार छ तैपनि काठमाडौं नै आउनुपरेको छ । यसैले यो घटनाले न्यायको मात्र होइन राज्यसंयन्त्रकै धज्जी उडाएको छ ।