काठमाडौं / यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग विचौलिया बनेर मोलमोलाइ गरी बढी भाडा लिँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर चितवनका समीर श्रेष्ठ, धनकुटाका किरण लिम्बू र सुनसरीका सविन राई, राज ठकुरी, दाङ घोराहीका विशाल गुरुङ र कैलालीका रमेश कठायत रहेका छन् ।
पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
यसैगरी कलंकीबाट नवीन केसी र बल्खुबाट अरुण मगर र जाजरकोटका विनोद रानालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ ।